काठमाडौँ । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशभर २७औँ वनस्पति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
यसै अवसरमा वनस्पति विभाग ले आफ्नो स्थापना दिवसको ६६औँ वार्षिकोत्सव पनि मनाउँदैछ। कार्यक्रममा गीता चौधरी को विशेष उपस्थिति रहने जनाइएको छ।
विभागका अनुसार दिवसको अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसँग सम्बन्धित अन्तरक्रिया, प्रदर्शनी तथा सम्मान कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै देशका विभिन्न भागमा वृक्षारोपण, जनचेतनामूलक अभियान, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन तथा जडीबुटीमा आधारित अर्थतन्त्रको विस्तारमा विशेष जोड दिएको छ। नेपालमा पाइने बहुमूल्य जडीबुटी र वनस्पतिको संरक्षण तथा दिगो उपयोगमार्फत हरित अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यका साथ यस दिवस मनाइँदै आएको छ।

