काठमाडौँ। चर्चित मास्टर सेफ सन्तोष साहले नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै भावनात्मक खुला पत्र सार्वजनिक गरेका छन्। उनले जनताका आधारभूत आवश्यकताहरू विशेषगरी स्वास्थ्य, शिक्षा, रोजगारी र सुशासन प्रति गम्भीर बन्न आग्रह गर्दै “कोही पनि सुत्केरी महिलाले बाटोमै मृत्युवरण गर्न नपरोस्” भन्ने मार्मिक सन्देश दिएका छन्।
भदौ २३ र २४ गतेको आन्दोलनपछि आएको राजनीतिक परिवर्तनप्रति उल्लेख गर्दै उनले वर्तमान सरकार जनआकांक्षाको प्रतिफल भएको बताए। जनताले आशा र भरोसाका साथ सांसदहरूलाई संसदमा पठाएको भन्दै उनले सांसद पद केवल शक्ति नभई ठूलो जिम्मेवारी भएको स्मरण गराएका छन्।
उनले सांसदहरूको प्रमुख कर्तव्य जनताको आवाज बन्नु, समस्याहरूलाई निर्भीक रूपमा उठाउनु र समाधानका लागि जनमुखी नीतिनियम निर्माण गर्नु भएको बताएका छन्। साथै, सस्तो लोकप्रियता र व्यक्तिगत प्रचारबाट टाढा रहँदै विनम्र र सेवामुखी नेतृत्व प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्।
साहले देशमा बढ्दो युवा नेतृत्वप्रति आशा व्यक्त गर्दै अनुभव र नयाँ सोचबीच सन्तुलन आवश्यक रहेको बताएका छन्। अग्रज राजनीतिज्ञहरूले अब युवा पुस्तालाई अवसर दिनुपर्ने समय आएको उल्लेख गर्दै उनले मार्गदर्शनको भूमिकामा रहन आग्रह गरेका छन्।
खुला पत्रमार्फत उनले आम नेपालीको आधारभूत चाहना पनि उजागर गरेका छन्—शुद्ध खानेपानी, सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारीको अवसर, कृषिमा उचित मूल्य, सुरक्षित वातावरण र भ्रष्टाचारमुक्त शासन। “पढ्न र उपचार गर्नकै लागि घर बेच्न नपरोस्, अवसरका लागि विदेशिनु नपरोस्,” भन्ने उनको आग्रहले वर्तमान व्यवस्थाप्रति जनअपेक्षा स्पष्ट पारेको छ।
अन्त्यमा उनले जनताको खुसीलाई नै शासनको केन्द्रमा राख्न आग्रह गर्दै सुशासन कायम भए नेपाली जनता सन्तुष्ट हुने विश्वास व्यक्त गरेका छन्।

