२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रूसका लागि क्युबाको सैन्य साथ, अमेरिका...

रूसका लागि क्युबाको सैन्य साथ, अमेरिका भन्छ:-लडाकू पठाइयो

रूसका लागि क्युबाको सैन्य साथ, अमेरिका भन्छ:-लडाकू पठाइयो

बुधवार, बैशाख २ २०८३०३:५६
बुधवार, बैशाख २ २०८३०३:५६
  • images

    काठमाडौं । रूस–युक्रेन युद्धबीच नयाँ मोड देखिएको छ । अमेरिकाले क्युबाले रूसको पक्षमा लड्न हजारौं लडाकू पठाएको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।

    अमेरिकी प्रशासनले संसदलाई दिएको जानकारीअनुसार क्युबाले रूसलाई कूटनीतिक तथा राजनीतिक समर्थनमा मात्र सीमित नरही युद्धमै लड्न लडाकूसमेत पठाएको जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनलाई उद्धृत गर्दै क्युबाली नागरिकहरू रूसको पक्षमा लडिरहेका विदेशी समूहहरूमध्ये उल्लेख्य रहेको दाबी गरेका छन् ।

    यद्यपि, क्युबाले औपचारिक रूपमा यस्तो आरोप स्वीकार गरेको छैन । अमेरिकी पक्षका अनुसार क्युबाली सरकारले प्रत्यक्ष रूपमा सैनिक पठाएको पुष्टि नगरे पनि यस्तो गतिविधिलाई सहजीकरण गरेको हुन सक्ने संकेत गरिएको छ ।

    यसअघि उत्तर कोरियाले पनि रूसको पक्षमा हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भइसकेको थियो, जसले युक्रेन युद्धमा विदेशी लडाकूहरूको संलग्नता बढ्दै गएको देखाउँछ ।

    अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले क्युबामाथि दबाब बढाइरहेको सन्दर्भमा यो खुलासा आएको हो । ट्रम्प प्रशासनले भेनेजुएलामा हस्तक्षेप गरेपछि क्युबातर्फ पनि कडा रणनीति अपनाउने संकेत दिएको थियो ।

    अमेरिकाले क्युबामाथि ऊर्जा आपूर्तिमा नाकाबन्दी जस्ता कदम चाल्दै आएको छ भने क्युबाका राष्ट्रपति मिगुएल डियाज–कनेलले वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएका छन् । यसबीच ट्रम्पले क्युबासम्बन्धी विवादास्पद अभिव्यक्ति दिँदै आफूले चाहेको जस्तो कदम चाल्न सक्ने संकेत दिएका थिए ।

    विश्लेषकहरूका अनुसार यदि क्युबाको संलग्नता पुष्टि भयो भने रूस–युक्रेन युद्ध थप जटिल बन्नेछ र यसले विश्व राजनीतिमा नयाँ ध्रुवीकरण निम्त्याउन सक्छ । साथै, महाशक्ति राष्ट्रहरूबीचको तनाव झन् चर्किने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend