काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागसँग सम्बन्धित ठेक्कापट्टा प्रक्रियामा ठूलो परिमाणमा घुस लिएको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विभागका प्रमुख सिडीई (उपसचिव) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक (नासु) देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सहायक पथप्रदर्शक देउकला अधिकारीको बैंक खातामा चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुसबापत जम्मा भएको फेला परेको छ। उक्त रकम निर्माण सेवा प्रालि नामक कम्पनीले विभिन्न ठेक्कापट्टामा सहजीकरण गरिदिएको बदलामा घुसस्वरूप खातामा राखिदिएको आयोगको दाबी छ।
उक्त कम्पनीले पुरातत्व विभागबाट करिब ६४ करोड २१ लाख रुपैयाँ बराबरका ठेक्का प्राप्त गरेको र सोही क्रममा अनियमितता गरी घुस लेनदेन भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। आयोगका अनुसार अधिकारी र श्रेष्ठले ठेक्का प्रक्रियामा प्रभाव पार्दै अवैध लाभ लिएको पुष्टि भएको दाबी गरिएको छ।
अख्तियारको अनुसन्धानले घुसबाट प्राप्त रकम विभिन्न सम्पत्तिमा रूपान्तरण गरिएको पनि देखाएको छ। आरोपितहरूले संयुक्त नाममा नुवाकोटमा तीन कित्ता गरी करिब १५ रोपनी जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा खरिद गरेको, करिब १०० ग्राम सुन किनेको तथा घुस रकम चेकमार्फत नगदमा रूपान्तरण गरी अन्यत्र लगानीसमेत गरेको विवरण सार्वजनिक गरिएको छ।
अख्तियारले उनीहरूमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरण ९मनी लन्डरिङ० सम्बन्धी मुद्दा पनि दायर गरेको जनाएको छ। आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत खुलाउन नसकिएको भन्दै सम्पत्ति जफतको मागसमेत गरेको छ।

