२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मनोहरा नदी पुरानै धारमा फर्काइने :...

मनोहरा नदी पुरानै धारमा फर्काइने : जग्गा विवाद समाधानमा काठमाडौं महानगर सक्रिय

मनोहरा नदी पुरानै धारमा फर्काइने : जग्गा विवाद समाधानमा काठमाडौं महानगर सक्रिय

बिहिवार, बैशाख १७ २०८३०२:२१
बिहिवार, बैशाख १७ २०८३०२:२१
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत मनोहरा नदीलाई पुरानै धारमा फर्काउने प्रक्रिया सुरु गरेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार नदीलाई २०२१ सालको नापी नक्साबमोजिमकै साविक बहावमा ल्याउने तयारी गरिएको हो।

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नदीको धार परिवर्तनका कारण उत्पन्न जग्गा विवाद समाधान गर्न प्राविधिक तथा प्रशासनिक तयारी तीव्र पारिएको बताएकी छन्। उनका अनुसार आयोजनालाई गति दिन आवश्यक कानुनी प्रक्रिया छिटो टुंग्याइनेछ।

    नदी पश्चिमतर्फ सर्दा काठमाडौं र भक्तपुरबीच जमिनको स्वामित्वमा उल्लेख्य परिवर्तन आएको छ। अध्ययनअनुसार काठमाडौंतर्फको करिब १०० रोपनी जमिन भक्तपुरतर्फ पुगेको छ भने भक्तपुरतर्फको करिब १५ रोपनी जमिन काठमाडौंमा सरेको छ।

    आयोजना प्रमुख निर्मलराज बरालका अनुसार १.५ किलोमिटर बहाव क्षेत्रमध्ये ५७५ मिटर मात्रै पुरानै अवस्थामा रहेको छ भने बाँकी भागमा नदीले धार परिवर्तन गरिसकेको छ।

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको छलफलपछि डंगोलले डीपीआर कार्यान्वयनका लागि आवश्यक सबै प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन्। उनले नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाएर रोकिएका काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिइन्।

    महानगरले नदी क्षेत्र मिचेर बनाइएका संरचना हटाउने कार्यलाई प्राथमिकता दिएको छ। साथै सुकुम्बासी वा भूमिहीनका रूपमा दर्ता भएका व्यक्तिहरूको व्यवस्थापन गर्दै खाली गराइएका क्षेत्रको संरक्षण गरिने जनाएको छ।

    आयोजना प्रमुख बरालका अनुसार भक्तपुरतर्फ सरेको क्षेत्रमा रहेका पक्की घर, टहरा तथा अस्थायी संरचना हटाइसकिएको छ। सो क्षेत्रमा ‘रिप्लटिङ’ अर्थात् जग्गाको पुनः कित्ताकाट प्रक्रिया समेत अघि बढिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend