काठमाडौं । हवाई सुरक्षालाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यसहित नेपालमा पहिलो पटक ‘फ्लाइट डेटा मोनिटरिङ एण्ड एनालाइसिस’ (FDM) सम्बन्धी एक दिने प्राविधिक कार्यशाला सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नागरिक उड्डयन महाशाखाले पुल्चोक क्याम्पसमा उक्त कार्यशाला आयोजना गरेको हो।
मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उद्घाटन गरेको कार्यक्रममा हवाई उडानका तथ्यांकहरूको विश्लेषणमार्फत सम्भावित दुर्घटना न्यूनीकरण गर्ने र तथ्यांकमा आधारित सुरक्षा प्रणाली लागू गर्ने विषयमा विशेष जोड दिइएको थियो। कार्यक्रममा मन्त्रालयका सहसचिव मुकेश डंगोलले कार्यशालाको उद्देश्यबारे जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न वायुसेवा कम्पनी, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, शैक्षिक संस्थाका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। करिब ६५ जनाको उपस्थिति रहेको उक्त कार्यशालाले हवाई सुरक्षासम्बन्धी ज्ञान आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख डा. सुरुप भट्टराईको प्राविधिक नेतृत्वमा सञ्चालन गरिएको कार्यशालामा हिमालय एयरलाइन्सको व्यावहारिक अनुभवसमेत समेटिएको थियो। यसले शैक्षिक क्षेत्र र हवाई उद्योगबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ।
कार्यशालामा उडान जोखिम पहिचान, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सफल अभ्यास तथा FDM कार्यान्वयनका चुनौती र समाधानका उपायबारे विस्तृत प्रस्तुति गरिएको थियो। सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिहरूले आफ्ना संस्थामा FDM कार्यान्वयनको अवस्थाबारे अनुभव समेत साझा गरेका थिए।
यस कार्यक्रमले नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने र दीर्घकालीन रूपमा सुरक्षित उडान सुनिश्चित गर्ने रणनीतिक मार्गचित्र तयार गर्न सहयोग पुगेको अपेक्षा गरिएको छ।

