चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा पार्टीका नेता–कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। रास्वपाको चुनाव चिन्हसमेत रहेको घण्टी बजाएर महाधिवेशन उद्घाटन गरिएपछि कार्यक्रमस्थलमा उत्साहपूर्ण वातावरण बनेको थियो।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेपछि रास्वपाले पहिलोपटक राष्ट्रिय महाधिवेशन आयोजना गरेको हो। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनअघि रास्वपाले पार्टी विधान संशोधन गरिसकेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी कार्यदिशा र रणनीति तय गर्ने जिम्मेवारी पनि यही महाधिवेशनले पूरा गर्नेछ।
रास्वपाले पहिलो महाधिवेशनलाई संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

