२०८३, भाद्र १३ गते

images

४२औँ वर्षमा नबिल बैंकको नयाँ संकल्प: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व

४२औँ वर्षमा नबिल बैंकको नयाँ संकल्प: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व

images
आइतवार, आषाढ २८ २०८३१२:५७
आइतवार, आषाढ २८ २०८३१२:५७
  • काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणासहित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित बैंकिङ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले प्रविधिमैत्री, समावेशी र भविष्यका लागि तयार वित्तीय प्रणाली निर्माण गर्दै ग्राहक, समुदाय र राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन समृद्धिमा योगदान दिने लक्ष्य दोहोर्‍याएको हो।

    वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले नबिल बैंकको ४२ वर्षे यात्राको आधार ‘विश्वास’ रहेको उल्लेख गर्दै आगामी दशकको नेतृत्व नवप्रवर्तन र प्रविधिले गर्ने बताए।

    उनले विगत चार दशकमा नबिल बैंकले आधुनिक बैंकिङको जग बसाल्दै नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा वित्तीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। ‘एनबैंक (nBank)’ एपमार्फत डिजिटल बैंकिङको विस्तार गर्दै ग्राहकको बैंकिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको उनको भनाइ थियो।

    अध्यक्ष चौधरीका अनुसार नबिल बैंक अहिले नेपालकै एकमात्र यस्तो वित्तीय समूह बनेको छ, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेस्टमेन्ट बैंकिङ, स्टक ब्रोकरेज, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।

    एआई बैंकिङमा नेतृत्व गर्ने तयारी

    अध्यक्ष चौधरीले विश्व बैंकिङ उद्योग अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै नबिल बैंक यस परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताए।

    उनका अनुसार आगामी दिनमा ‘एनबैंक’ एपको विकास एआई केन्द्रित हुनेछ, जसले बैंकिङ सेवालाई अझ स्मार्ट, व्यक्तिगत र सुरक्षित बनाउनेछ। यसबाट कर्जा प्रवाह छिटो हुने, जोखिम व्यवस्थापन प्रभावकारी बन्ने, ग्राहक अनुभव थप उत्कृष्ट हुने तथा वित्तीय समावेशीकरण विस्तार हुने विश्वास बैंकले व्यक्त गरेको छ।

    उनले प्रविधिको विकाससँगै मानवीय मूल्य र ग्राहकप्रतिको विश्वासलाई केन्द्रमा राखेर सेवा विस्तार गरिने पनि स्पष्ट पारे।

    ग्राहकको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति : सीईओ ज्ञवाली

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले १९८४ मा सुरु भएको नबिल बैंकको यात्रा आज लाखौं ग्राहकको विश्वास र हजारौं कर्मचारीको समर्पणका कारण सफल भएको बताए।

    उनले नबिल बैंक केवल बैंकिङ सेवा दिने संस्था नभई ग्राहकका सपना, सम्भावना र सफलताको यात्रामा विश्वसनीय साझेदारका रूपमा अघि बढिरहेको उल्लेख गर्दै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए।

    कृषि, ऊर्जा र एमएसएमईमा ठूलो लगानी

    देशको उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै नबिल बैंकले कृषि क्षेत्रमा रु. ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा रु. ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा रु. ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा रु. ११ अर्ब १० करोड कर्जा लगानी गरेको जनाएको छ।

    ४२ वर्षमा उल्लेखनीय वित्तीय विस्तार

    बैंकका अनुसार आर्थिक वर्ष २०४१/४२ मा रु. २ करोड ८० लाख नेटवर्थबाट यात्रा सुरु गरेको नबिल बैंकको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म रु. ७० अर्ब ८३ करोड पुगेको छ भने खुद नाफा रु. ६ अर्ब ७६ करोड पुगेको छ।

    यस अवधिमा बैंकको निक्षेप रु. १४ करोड ६० लाखबाट बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड, कर्जा प्रवाह रु. १३ करोड ३० लाखबाट रु. ४ खर्ब ६४ अर्ब १० करोड तथा कुल सम्पत्ति रु. ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको बैंकले जनाएको छ।

    हाल नबिल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

    वार्षिकोत्सवमा ४२ दिन विशेष अफर

    ४२औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म लागू हुने विशेष ग्राहक-केन्द्रित योजना सार्वजनिक गरेको छ।

    यसअन्तर्गत हेटौँडा र वीरगञ्जका सडक विस्तारबाट प्रभावित नागरिकका लागि सहुलियतपूर्ण पुनःनिर्माण घर कर्जा योजना, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, ई–पेमेन्ट गेटवे (EPG) इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट, तथा क्रेडिट र डेबिट कार्ड सेवामा विशेष शुल्क छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

    चार दशकभन्दा बढी समयदेखि नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिल बैंकले आगामी दिनमा दिगो बैंकिङ, डिजिटल नवप्रवर्तन र एआई प्रविधिमार्फत ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउँदै नेपालको वित्तीय क्षेत्रको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend