काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा निजी क्षेत्रमा प्रवाहित कर्जा ९३ अर्ब ५२ करोड रुपैयाँ अर्थात् १.६ प्रतिशतले बढेको छ ।
भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कुल कर्जा ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड रुपैयाँले बढेको थियो । यसले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा कर्जा विस्तारको गति बढेको देखाउँछ ।
वार्षिक बिन्दुगत आधारमा भने २०८३ भदौ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकको कर्जा विस्तार बढी
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा प्रवाह १.७ प्रतिशतले बढेको छ । यसै अवधिमा विकास बैंकहरूको कर्जा ०.६ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.४ प्रतिशतले वृद्धि भएको छ ।
कर्जाको क्षेत्रगत संरचनाअनुसार भदौ मसान्तसम्म गैरवित्तीय संस्थागत क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६२.५ प्रतिशत रहेको छ । व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ३७.५ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत थियो । यसले कुल कर्जामा व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा केही बढेको देखाउँछ ।
खनिज र उत्पादनसम्बन्धी क्षेत्रमा कर्जा वृद्धि
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विभिन्न आर्थिक क्षेत्रमा प्रवाहित कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा सबैभन्दा बढी १०.४ प्रतिशतले बढेको छ ।
यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रको कर्जा ७.६ प्रतिशतले वृद्धि भएको छ भने धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रको कर्जा ७.३ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्माण क्षेत्रमा ३.७ प्रतिशत, सेवा उद्योगमा २.७ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा २.५ प्रतिशतले कर्जा विस्तार भएको छ ।
यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
कृषि र घरजग्गा क्षेत्रमा कर्जा घट्यो
समग्र कर्जा प्रवाह बढे पनि केही क्षेत्रमा भने गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले घटेको छ । कृषि क्षेत्रतर्फको कर्जा पनि २.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।
कर्जाको धितो संरचनामा पनि केही परिवर्तन आएको छ । भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.६ प्रतिशत रहेको छ । घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा भने ६२.८ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.१ प्रतिशत र घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६४.३ प्रतिशत थियो । यसअनुसार कुल कर्जामा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा घटेको छ ।
ट्रस्ट रिसिट कर्जा बढ्दा क्यास क्रेडिट घट्यो
कर्जाको प्रकृतिअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ट्रस्ट रिसिट कर्जा ९.४ प्रतिशतले बढेको छ । विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल इस्टेट कर्जा १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा क्यास क्रेडिट कर्जा १.३ प्रतिशतले घटेको छ । अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।



