२०८३, आश्विन २९ गते

images
  • समाचार
  • ३१ ठाउँमा जग्गाजमिनदेखि करोडौँको सेयरसम्म, यस्तो...

३१ ठाउँमा जग्गाजमिनदेखि करोडौँको सेयरसम्म, यस्तो छ कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण

३१ ठाउँमा जग्गाजमिनदेखि करोडौँको सेयरसम्म, यस्तो छ कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण

images
बिहिवार, आश्विन २९ २०८३११:२८
बिहिवार, आश्विन २९ २०८३११:२८
  • images

    काठमाडौँ । कर्णाली प्रदेश सरकारका ६ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार (असोज २९) आफ्नो आधिकारिक वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। मुख्यमन्त्री मंगलबहादुर शाहीले भने यसअघि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्।

    सार्वजनिक विवरणअनुसार मन्त्रीहरूको सम्पत्तिमा घरजग्गा, सेयर लगानी, बैंक मौज्दात, सुनचाँदी, सवारीसाधन तथा ऋण समावेश छन्। कसैको सम्पत्तिमा ठूलो परिमाणको सेयर लगानी देखिएको छ भने कसैले पैतृक सम्पत्ति, पारिवारिक घरजग्गा र बैंक मौज्दातको विवरण बुझाएका छन्।

    आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको नाममा सम्पदा लघुवित्तको ७२ लाख ३५ हजार ६०० रुपैयाँबराबरको सेयर रहेको छ। सामाजिक विकासमन्त्री जितबहादुर मल्लको परिवारका नाममा चारवटा घर र विभिन्न स्थानमा जग्गा रहेको विवरणमा उल्लेख छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले भने आफ्नो नाममा घर नभएको जनाएकी छन्।

    सार्वजनिक विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री पछाई, सामाजिक विकासमन्त्री मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल नेकपा (एमाले) बाट मन्त्री बनेका हुन्। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा, उद्योगमन्त्री कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बनेका हुन्।

    टेकराज पछाई : ७२ लाखभन्दा बढीको सेयर लगानी

    आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सम्पत्ति विवरणमा सेयर लगानी प्रमुख रूपमा देखिएको छ। उनको आफ्नै नाममा सम्पदा लघुवित्तको ७२ लाख ३५ हजार ६०० रुपैयाँबराबरको सेयर रहेको छ।

    त्यस्तै, कमसम बचत तथा ऋण सहकारीमा दुई लाख रुपैयाँ लगानी रहेको उल्लेख छ। नबिल, कालिकालगायत लघुवित्त संस्थामा नौ हजार कित्ता सेयर रहेको विवरणमा जनाइएको छ।

    उनकी श्रीमती तिला आचार्यका नाममा एक्सपर्ट हाइड्रोपावरमा दुई लाख रुपैयाँ लगानी छ। आरम्भ चौतारी, सूर्यज्योति लाइफ, एलआईसी र त्रिशूली जलविद्युत्लगायत कम्पनीमा श्रीमतीका नाममा १६ हजार कित्ता सेयर रहेको उल्लेख छ। ती सेयरको हालको बजार मूल्य भने खुलाइएको छैन।

    पछाईको बैंक खातामा आठ लाख रुपैयाँ र उनकी श्रीमतीको खातामा चार लाख १५ हजार रुपैयाँ मौज्दात छ। नागरिक लगानी कोषमा पछाईका नाममा तीन लाख ९२ हजार ६६४ रुपैयाँ र श्रीमतीका नाममा पाँच लाख २१ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    उनको सम्पत्ति विवरणमा दुईवटा मोटरसाइकल तथा स्कुटर, सुनचाँदी र जुम्लामा लगाइएका स्याउ तथा ओखरका बोटसमेत समेटिएका छन्। पछाईले आफ्नो नाममा ऋण नरहेको जनाएका छन्।

    जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा उनका बुवाका नाममा रहेका दुई पुर्ख्यौली घर पनि विवरणमा उल्लेख छन्। यसबाहेक जुम्लाका विभिन्न २८ स्थान र बर्दियाको राजापुर नगरपालिका–२ का तीन स्थानमा जग्गा रहेको जनाइएको छ।

    जितबहादुर मल्ल : परिवारका नाममा चार घर, ६३ लाख ऋण

    सामाजिक विकासमन्त्री जितबहादुर मल्लको सम्पत्ति विवरणमा घरजग्गा र पारिवारिक ऋण उल्लेख्य देखिएको छ।

    उनको आफ्नै नाममा बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्गमिटर क्षेत्रफलमा बनेको ३० लाख रुपैयाँ मूल्यको घर छ। उनकी श्रीमती राधिका मल्लका नाममा मुगुको छायाँनाथ रारा नगरपालिका–२ मा ५० लाख रुपैयाँ मूल्यको घर रहेको विवरणमा उल्लेख छ।

    त्यस्तै, छायाँनाथ रारा नगरपालिका–१ मा श्रीमतीकै नाममा पाँच लाख र १५ लाख रुपैयाँ खरिद मूल्यका थप दुई घर छन्। यसअनुसार मल्ल परिवारका नाममा चारवटा घर रहेको देखिन्छ।

    घरबाहेक श्रीमतीका नाममा छायाँनाथ रारा नगरपालिकाका विभिन्न १० स्थानमा गरी ९७ लाख रुपैयाँ खरिद मूल्यको जग्गा रहेको छ। मल्लको बैंक खातामा तीन लाख रुपैयाँ मौज्दात छ।

    उनको सम्पत्ति विवरणमा सुनचाँदी, मोबाइल, ल्यापटप र ट्याबलेटसमेत उल्लेख छन्। मोबाइल, ल्यापटप र ट्याबलेट वैदेशिक रोजगारीमा रहेका व्यक्तिबाट उपहारस्वरूप प्राप्त भएको विवरणमा जनाइएको छ।

    मल्लकी श्रीमतीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ६३ लाख रुपैयाँ ऋण छ। तर, ऋणको प्रयोजन, साँवा तथा ब्याजको अवस्था र उक्त रकमबाट खरिद गरिएको सम्पत्ति वा गरिएको खर्चबारे विवरण खुलाइएको छैन।

    कलबहादुर हमाल : आठ लाख रुपैयाँ ऋण तिर्न बाँकी

    जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालको सम्पत्ति विवरणमा पुर्ख्यौली घरजग्गा, कृषि उपज, परम्परागत सामग्री र ऋण समावेश छन्।

    उनका नाममा हुम्लाको अदानचुली गाउँपालिका–५ मा पुर्ख्यौली घर रहेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा पाँच लाख रुपैयाँमा खरिद गरिएको जग्गासहित ९६ वर्गमिटर क्षेत्रफलको अर्को जग्गा पनि विवरणमा उल्लेख छ। तीमध्ये अर्को जग्गा छोरीज्वाइँको बैंकसम्बन्धी प्रयोजनका लागि रोक्का राखिएको जनाइएको छ।

    हुम्लाको अदानचुली र ताँजाकोट क्षेत्रमा २५ कित्ताभन्दा बढी पुर्ख्यौली तथा पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ। ती जग्गाको अंशबन्डा हुन बाँकी रहेको पनि जनाइएको छ।

    हमालसँग दुई तोला सुन र पैतृक ४० तोला चाँदी छ। उनका चारवटा बैंक खातामा गरी दुई लाख ७० हजार रुपैयाँ मौज्दात रहेको छ।

    उनको सम्पत्ति विवरणमा धान, कोदो, गहुँ, मकै, सिमी र कागुनोजस्ता कृषि उपजका साथै राडीपाखी, गलैँचा तथा तामा, पित्तल र काँसका भाँडाकुँडासमेत समावेश छन्।

    हमालले विभिन्न व्यक्तिबाट वैदेशिक रोजगारी तथा अध्ययनका लागि लिएको आठ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको उल्लेख गरेका छन्।

    जुम्कित लामा : सुनचाँदी, जग्गा र बिमाबाट प्राप्त रकम

    भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामाको सम्पत्ति विवरणमा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात तथा दुर्घटना बिमाबाट प्राप्त रकम उल्लेख छन्।

    उनको पैतृक घर हुम्लाको सर्केगाड गाउँपालिका–२ मा छ। आफ्नै नाममा हुम्लाको सिमकोट गाउँपालिका–६ मा १७.२५ वर्गमिटर क्षेत्रफलको २५ लाख रुपैयाँ मूल्यको जग्गा रहेको छ। त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा ३० लाख रुपैयाँ मूल्यको जग्गा रहेको विवरणमा उल्लेख छ। उनका ससुराका नाममा सर्केगाडमा ५० रोपनी पैतृक खेतबारी रहेको पनि जनाइएको छ।

    लामासँग १० तोला सुन, ११० तोला चाँदी तथा तुषो, मुगा र मोतीका २५ तोला माला छन्। उनीसँग दुई लाख रुपैयाँ नगद मौज्दात छ। त्यस्तै, सिटिजन्स बैंकमा २० हजार र एनएमबी बैंकमा ११ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    उनका नाममा सांग्रिला विकास बैंकमा १५ लाख रुपैयाँ रहेको छ। उक्त रकम श्रीमान्को दुर्घटना मृत्यु दाबीबापत बिमाबाट प्राप्त भएको विवरणमा जनाइएको छ।

    त्यस्तै, उनका छोरा चन्दसिंह कार्कीका नाममा सिटिजन्स बैंकमा ४२ लाख रुपैयाँ रहेको छ। उक्त रकम पनि बुवा चन्दसिंह कार्कीको दुर्घटना बिमा दाबीबाट प्राप्त भएको उल्लेख छ। छोराका नाममा तीन लाख रुपैयाँ मूल्यको मोटरसाइकलसमेत रहेको विवरणमा जनाइएको छ।

    यसरी लामाको सम्पत्ति विवरणमा उनको आफ्नै नाममा रहेको सम्पत्तिसँगै श्रीमान्को दुर्घटना मृत्यु दाबीबाट प्राप्त रकम र छोराका नाममा रहेको बिमाबापतको रकम तथा मोटरसाइकल पनि समेटिएका छन्।

    मिलन खड्का रोका : बैंकमा ९० हजार, आफन्तबाट १२ लाख ऋण

    भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाको बैंक खातामा ९० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ।

    उनका नाममा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ मा गाउँतर्फ ११ कित्ता पुर्ख्यौली जग्गा छ। गाउँमा मोती रोकाका नाममा रहेको कच्ची पुर्ख्यौली घरसमेत सम्पत्ति विवरणमा समावेश छ।

    रोकासँग माइतीमा रहँदा कमाएको दुई तोला सुन रहेको उल्लेख छ। परिवार सगोलमा विभिन्न कम्पनी तथा संस्थामा तीन लाख रुपैयाँबराबरको सेयर रहेको विवरणमा जनाइएको छ। त्यस्तै, एक गाई, पाँच बाख्रा र एउटा साधारण मोबाइल पनि सम्पत्तिका रूपमा उल्लेख गरिएका छन्।

    उनले आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको विवरणमा जनाएकी छन्।

    कल्याणी खड्का : घर छैन, बैंकमा नौ लाख ४६ हजार रुपैयाँ

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले आफ्नो नाममा घर नभएको सम्पत्ति विवरण बुझाएकी छन्। उनी अविवाहित रहेको र बुवाआमाको घर भूकम्पका कारण क्षतिग्रस्त भएको विवरणमा उल्लेख छ।

    खड्काले गाउँमा अंशबन्डाबाट चार कित्ता जग्गा प्राप्त गरेको जनाएकी छन्। त्यस्तै, दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रुपैयाँ मूल्यबराबरको घडेरी पनि अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख छ। उनीसँग सुनचाँदी नरहेको जनाइएको छ।

    उनको बैंक खातामा बुवाबाट प्राप्त पाँच लाख रुपैयाँ तथा तलब, भत्ता र जग्गा बिक्रीबाट जम्मा भएको चार लाख ४६ हजार रुपैयाँ रहेको छ। यसअनुसार खड्काको बैंक मौज्दात नौ लाख ४६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend