२०८३, आश्विन २९ गते

images

नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २०.९ महिनाको वस्तु आयात धान्ने

नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, २०.९ महिनाको वस्तु आयात धान्ने

images
बिहिवार, आश्विन २९ २०८३०३:२५
बिहिवार, आश्विन २९ २०८३०३:२५
  • images

    काठमाडौँ । नेपालसँग भएको विदेशी विनिमय सञ्चितिले २०।९ महिनाको वस्तु आयात र १७।८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३४७३ अर्ब १९ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.० प्रतिशतले वृद्धि भई ३६ खर्ब १० अर्ब ७६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ७.२ प्रतिशतले वद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड कायम भएको छ । २०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको छ ।

    भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमश: ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । मसान्तमा उक्त अनुपातहरू क्रमशस् ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।

    चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।

    भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।

    भदौ मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । भदौ मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ४६९ अर्ब ४४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो ।

    भदौ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । गत आवको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो । चालु आवको २ महिनाको तुलनमा गत आवको सोही अवधिमा भने यस्तो संख्या धेरै थियो । अहिले वैदेशिक रोजागरीमा जानेको संख्या घटेको भने विप्रेषण आउनेक्रम बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend