काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। भारतको प्रतिष्ठित वाणिज्य तथा उद्योग संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड उत्कृष्ट बैंकका रूपमा सम्मानित भएका छन्।
नयाँदिल्लीमा आयोजित कार्यक्रममा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ जित्न सफल भएको हो। त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ तथा ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन प्रतिष्ठित विधामा अवार्ड हात पार्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
विशेषगरी विकास बैंकतर्फ शाइन रेसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो व्यावसायिक वृद्धिको अन्तर्राष्ट्रिय मान्यता भएको विश्लेषण गरिएको छ। रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक हो।
अवार्डका लागि आईसीसीको इकोनोमिक अफेयर्स एन्ड पोलिसी डिपार्टमेन्ट ले बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाबाट खुला आवेदन आह्वान गरेको थियो। विभिन्न देशका बैंक तथा वित्तीय संस्थाबीच कडा प्रतिस्पर्धापछि उत्कृष्ट संस्थाहरू छनोट गरिएका हुन्।
सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफाको अवस्था, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।
अवार्ड छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउन विश्वव्यापी रूपमा प्रतिष्ठित व्यावसायिक सेवा प्रदायक संस्था प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो। १५० भन्दा बढी देशमा सेवा विस्तार गरिसकेको पीडब्लुसीको सहभागिताले पुरस्कारको विश्वसनीयता थप सुदृढ बनाएको आयोजकको भनाइ छ।
सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स भारतको अग्रणी वाणिज्य मण्डलमध्ये एक हो। दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापार, लगानी, वित्तीय सहकार्य तथा आर्थिक साझेदारी प्रवर्द्धनमा सक्रिय आईसीसीले हरेक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

