काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति वायुसेवा सञ्चालक संघ, नेपालले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को समयमा संघमा आबद्ध सदस्य वायुसेवा कम्पनीहरूका हेलिकप्टर खोज तथा उद्धार कार्यमा सक्रिय रहेको संघले जनाएको छ। आवश्यक स्वास्थ्य तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउनेदेखि उद्धारका क्रममा खटिने सुरक्षाकर्मीलाई सहयोग गर्ने कार्यमा समेत सदस्य कम्पनीहरू संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ।
संघले विपद्को समयमा उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिन सदस्य वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ। साथै, हेलिकप्टरमार्फत उद्धार गरी प्रभावित तथा संकटमा परेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सहयोग गर्न पनि संघले आह्वान गरेको छ।
यस्तै सघले सस्तो दरका हवाई टिकट सकिए पनि साबिककै भाडादर कायम गरी हवाई टिकट बिक्री गर्ने वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघले जारी गरेको विज्ञप्तीमा सरकारले तोकेको भाडादरमा नै रही टिकट बिक्री गरिरहेका र केही सेक्टरमा यात्रुहरुको अत्यधिक चापका कारण सस्तो दरका हवाई टिकट सकिए पनि मानवीय तथा सामाजिक उत्तरदायित्वभित्र रही साबिककै भाडा दर कायम गरी हवाई टिकट बिक्री गरिरहेको जनाइएको छ।
आपतको सयमा वायुसेवा कम्पनीहरुले भाडा बढाएको भन्दै विरोध भएको थियो। सामाजिक सञ्जालनका हवाई टिकटको रकमलाई लिएर विरोध सुरु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार नै वायुसेवा कम्पनीहरुलाई भाडामा साबिककै दर लागु गर्ने निर्देशन दिएको थियो।

