२०८३, आश्विन २२ गते

images

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री, चिस्यान केन्द्र नहुँदा विदेशमा निर्यात गर्न कठिनाई

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री, चिस्यान केन्द्र नहुँदा विदेशमा निर्यात गर्न कठिनाई

शनिवार, कार्तिक ३ २०८१०७:१३
शनिवार, कार्तिक ३ २०८१०७:१३
  • images

    काठमाडौँ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनीहरुको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।

    भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लागेका छन् ।  कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्ने गर्छन् । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लागेका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका हुन् ।

    घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक दुई हजार रुपैयाँ भाडामा लिएर उनीहरुले फूलखेती गरिरहेका छन् । गत वर्ष तिहारमा मात्रै १३ लाख रुपैयाँको फूल बिक्री गरेको साउदले बताए । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर पाँच लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरुको छ । 

    उनीहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गरेका थिए । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा ८०  हजार रुपैयाँको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए ।

    ‘यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ’, उनले भने, ‘यसपालि दुई लाखको बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर प्रतिगोटा दुई देखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।’

    स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउँछन् । उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उनले बताए ।

    राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनको भनाई छ । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend