काठमाडौँ । दसैँका बेला खाना पकाउने एलपी ग्यासको अभाव भोगिरहेका उपभोक्तालाई राहत दिन काठमाडौँ उपत्यकामा ग्यास साटफेर गर्ने वितरण केन्द्रको सङ्ख्या बढाएर ११ पुर्याइएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आइतबार ६ स्थानबाट सुरु गरिएको फरक कम्पनीका ग्यास सिलिन्डर साटफेर गर्ने व्यवस्था सोमबारदेखि थप पाँच स्थानमा विस्तार गरिएको हो । नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थप गरिएको संघले जनाएको छ ।
संघका अनुसार सोमबारदेखि काठमाडौँको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास तथा सन्तुगलमा श्रीमाया ग्यास साटफेर गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौँको कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर गर्ने व्यवस्था गरिएको थियो ।
त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध गराउने व्यवस्था छ । पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्न सकिने संघले जनाएको छ ।
अतिरिक्त शुल्क तिर्नु नपर्ने
यो व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग रहेको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर वितरण केन्द्रमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् । कम्पनी फरक परेको आधारमा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
तर, संघले तोकेका ११ वटा वितरण केन्द्रबाट मात्रै यस्तो सुविधा लिन सकिने जनाएको छ । अन्य स्थानमा गएर फरक कम्पनीका सिलिन्डर साटफेर गर्न पाइने छैन ।
संघका अनुसार ग्यास साटफेर सेवा असोज ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।
यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सेवा उपलब्ध हुने जनाएको थियो ।
ग्यास साटफेर कार्यक्रम सुरु भएको पहिलो दिन आइतबार मात्रै ३ हजार ७५ वटा सिलिन्डर बिक्रीवितरण भएको संघले जनाएको छ । चाडपर्वका बेला ग्यासको आपूर्तिमा देखिएको असहजता कम गर्न यस्तो व्यवस्था गरिएको हो ।

