२०८३, कार्तिक ६ गते

images
  • समाचार
  • आज बडादशैंको टीका लगाउने उत्तम साइत...

आज बडादशैंको टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे, टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

आज बडादशैंको टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे, टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

images
बुधवार, कार्तिक ५ २०८३०७:१०
बुधवार, कार्तिक ५ २०८३०७:१०
  • images

    काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। समितिले टीका लगाउन चाहनेहरूका लागि बिहान १० बजेर २६ मिनेटलाई उत्तम साइत निर्धारण गरेको छ।

    यद्यपि, दशैंको टीका लगाउन उत्तम साइत नै कुर्नुपर्ने बाध्यता नरहेको समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले बताएका छन्। उनका अनुसार बिहान घाम झुल्किएपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ। टाढा जानुपर्ने वा अन्य बाध्यता भएका व्यक्तिले पनि अनुकूल समयमा टीका लगाउन सक्नेछन्।

    टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्छ।

    धार्मिक मान्यताअनुसार दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित भएकाले दशैंको टीका लगाउँदा दक्षिणतर्फ फर्किने परम्परा छैन। यद्यपि, कतिपयले चन्द्रमाको अवस्थासमेत विचार गरेर टीका लगाउने दिशा निर्धारण गर्ने चलन रहेको छ।

    कलशको जल र जमराको विशेष धार्मिक महत्त्व

    दुर्गा विसर्जनपछि दशैंको टीका लगाउने क्रम सुरु हुन्छ। धार्मिक परम्पराअनुसार सबैभन्दा पहिले कुलदेवता र पितृदेवतालाई टीका चढाइन्छ। कतिपय समुदायमा घरको मूल ढोकामाथि टीका लगाउने परम्परासमेत रहेको छ।

    दुर्गा विसर्जनपछि कलशमा राखिएको जललाई पवित्र मानिन्छ। उक्त जलबाट अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने तथा घरको मूल ढोकामाथि टीका लगाउने चलन छ।

    घरमा गुरुपुरोहितबाट पूजा स्थापना गरिएको भए उहाँहरूबाट र अन्यथा घरका मान्यजनबाट टीका तथा जमरा लगाउने परम्परा छ। त्यसपछि परिवारका अन्य सदस्य तथा मान्यजनबाट टीका ग्रहण गरिन्छ।

    साइत गुज्रिए पनि टीका लगाउन सकिने

    दशैंमा टीका लगाउन साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम मानिएको छ। तर, हतारो भएका, टाढा यात्रा गर्नुपर्ने वा अन्य कारणले उक्त समयमा टीका लगाउन नसक्नेहरूले चिन्ता लिनु नपर्ने प्रा.डा. भट्टराई बताउँछन्।

    उनका अनुसार दशैंको दिन बिहान घाम झुल्किएपछि मान्यजनबाट विधिपूर्वक टीका ग्रहण गरेर अन्य आफन्तकहाँ टीका थाप्न जान सकिन्छ।

    विदेशबाट ढिलो गरी नेपाल आइपुग्ने वा विभिन्न कारणले निर्धारित साइतमा टीका लगाउन नसक्ने व्यक्तिले पनि अनुकूल समयमा मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्न सक्नेछन्।

    दशैंमा टीका र जमरा लगाउने परम्परा धार्मिक आस्था, पारिवारिक एकता र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा समेत रहेको छ। मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै परिवार तथा आफन्तसँग खुसी साटासाट गर्नु यस पर्वको मुख्य विशेषता हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend