काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा समेटिएकोमा बधाई दिएको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले कात्तिक २४ गते एक विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन्।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा निरन्तर काम गरिरहेका वाग्लेले रसुवा–भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि विश्व मञ्चमा सशक्त आवाज उठाएका थिए। पार्टीले जारी गरेको विज्ञप्तिमा वाग्लेले जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा लिएको नेतृत्व तथा अग्रसरता नेपालका लागि सदैव उल्लेखनीय रहेको बताइएको ।
रसुवा–भोटेकोशी विपद्पछि वाग्लेको नेतृत्वमा द्रुत गतिमा आवश्यकताको आकलन भएको थियो। कार्बन उत्सर्जनमा भूमिका नरहेका देशहरूले भोग्नुपर्ने विपद् र त्यसमा विश्व समुदायको दायित्वबारे उनले तथ्यमा आधारित वकालत गरेका थिए।
‘नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने पहल वाग्लेले गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नागरिकका लागि अर्बौँ आर्थिक सहायता परिचालन गर्न सफल हुनु उनको अर्को महत्त्वपूर्ण योगदान हो।’ यिनै कामलाई विश्व समुदायले जानकारीमा राखेर उनलाई यो सूचीमा समेटेको पार्टीको ठहर छ ।
नेपालले जलवायु संकटमा नगण्य योगदान गरे पनि यसको असर भने असमान रूपमा भोगिरहेको छ। डा. वाग्लेको यो उपलब्धि उनको व्यक्तिगत प्रयासको सम्मान मात्र नभएको रास्वपाले जनाएको छ।
‘यो उपलब्धि जलवायु संकटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायको सरोकारप्रति विश्वको ध्यानाकर्षण पनि हो,’ महामन्त्री आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। जलवायु परिवर्तनको असर भोग्ने समुदायका लागि पर्याप्त वित्त, अनुकूलन सहयोग र न्यायोचित सम्बोधन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा पार्टीले जोड दिएको छ।

