काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३ जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाल माथिको अनुसन्धान नसकिएको भन्दै प्रहरीले पाँचौँपल्ट अदालतमा उपस्थित गराएको हो ।
यसअघि २५ कात्तिकमा पाएको १३ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई पुनः अदालत पेस गरेको हो । २ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि उनलाई पोखराबाटै बुटवल पुर्याएर त्यहाँको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा बयान लिइएको थियो । उनीविरुद्ध चितवन र काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । केही दिनभित्रै उनलाई प्रहरीले काठमाडौं ल्याएर बयान लिन सक्छ ।

