काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउदै अध्यक्ष प्रचण्डले भने, ‘उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोजेका खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।’
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनको भनाई थियो ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट पारे ।
उनले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद व्यत्त गरे ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताए । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उनले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वको समाजवादी अभियान अघि बढानुपर्ने बताए ।
प्रचण्डलाई गणतन्त्र नायक सम्मान
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।
कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

