काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति प्रतिक्रिया जनाएकी छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै आफूमाथि मिडिडा ट्रायल भएको बताएकी हुन् । उनले प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप लगाएकी छिन् ।
यस्तो छ उनको स्टाटस :
आज बिहानै बुवाले फाेनमा हाँस्दै सोध्नु भयो, 'तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ कराेड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न।'
मैले पनि हाँस्दै भने, 'त्यत्राे पैसा भएरै त हाेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।'
बुवा-छाेरीकाे कुराकानीकाे सन्दर्भ थियाे, अनुसन्धानमा रहेको विषयमा भएको 'मिडिया ट्रायल'काे।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेवारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।
मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।