काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।
यसैबीच क्षतिको विवरण संकलन गर्न शुरु गरिएको छ। विकट हिमाली जिल्ला बाजुराका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन जारी रहेको छ।
भूकम्पका कारण बूढीनन्दा नगरपालिका-४ मा एक घर भत्किएको छ। घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको छ।
जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

