काठमाडौं । पछिल्लो समय देश छाड्ने युवाहरुको संख्या बढ्दै गएको छ । मंसिरमा मात्रै ८३ हजार ९ सय ३३ जना युवा कामको खोजीमा विदेश पलायन भएका छन् । यो संख्या हालसम्मकै उच्च हो ।
यसअघि एकै महिनामा यति धेरै बाहिरिएको रेकर्ड नभएको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए। यसअघि गत आर्थिक वर्षको भदौमा सबैभन्दा बढी ७६ हजार ४ सय ३ कामदार बाहिरिएका थिए।
मंसिरमा ८३ हजार ९ सय ३३ जना बाहिरिएसँगै चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कामको खोजीमा ३ लाख १७ हजार युवा बिदेसिएका छन्
विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएको छ । सो अनुसार गत वर्षको मंसिरमा ७१ हजार २७६ जना वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यो वर्ष १२ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका हुन्।
मंसिरमा व्यक्तिगत र संस्था गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । चालु आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।
विभागका अनुसार एक महिनाको अवधिमा ८३ हजार ९ सय ३३ जना नेपाली वैदेशिक राजेगारीमा गएका छन् । सीप सिकेर ५३ हजार १५८ जना गएका छन् भने २१ हजार ७१६ जना अदक्ष कामदार बाहिरिएका छन् । सो अवधिमा ८ हजार ७८० जना अर्धदक्ष कामदार बाहिरिएका छन् । यस्तै विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्युन मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ ।
विज्ञता हासिल गरेका ७७० जना बाहिरिदा उच्च दक्ष कामदार भने १०२ जना बाहिरिएका छन् । विभागको तथ्याङ्क अनुसार हेर्दा नेपालबाट विदेशिने कामदारमध्ये एक तिहाई हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका देखिन्छ भने सामान्य सीप सिकेका दुई तिहाई हाराहारीमा छ ।

