२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • पर्यटकीय गतिविधि बढाउन पोखरामा एकपछि अर्काे अन्तर्राष्ट्रिय...

पर्यटकीय गतिविधि बढाउन पोखरामा एकपछि अर्काे अन्तर्राष्ट्रिय उत्सव

पर्यटकीय गतिविधि बढाउन पोखरामा एकपछि अर्काे अन्तर्राष्ट्रिय उत्सव

मंगलवार, पौष ९ २०८१०४:०४
मंगलवार, पौष ९ २०८१०४:०४
  • images
    काठमाडौँ । नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ । हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रुपमा विदेशी पर्यटक कमै आउँछन् । डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन् । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ठूलो सङ्ख्यामा विदेशी नागरिक आउँछन् । यसरी हेर्दा नेपालमा विशेषगरी शरद् र वसन्त ऋतु पर्यटकका लागि बढी उपयोगी सिजन मानिन्छ ।
         
    विदेशी पर्यटक कम आउने याम भएकाले पनि नेपालको पर्यटकीय क्षेत्रमा हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षण मात्रै होइन उनीहरुको बसाई लम्ब्याउन पनि मद्दत पुग्छ । यसै सन्दर्भमा अहिले पर्यटनको राजधानी पोखरा, पर्यटकीय क्षेत्र चितवन, लुम्बिनीलगायतका गन्तव्यमा पर्यटनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, महोत्सवलगायत गतिविधि भइरहेको छ । 
     
    नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि नौदिने अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । यही पुस १४ गतेदेखि नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुँदैछ । त्यस्तै, पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुन गइरहेको छ । यी उत्सव र मेलाले पर्यटक आकर्षण मात्रै नभई नेपालमा रहेका विदेशी पर्यटकको बसाइ लम्ब्याउन पनि मद्दत पुगेको छ ।
     
    पर्यटक कम आउने याममा पर्यटनलाई चलायमान बनाउन हुने अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवद्र्धनका महत्वपूर्ण सघाउ पुग्ने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताए । “पर्यटक कम आउने ‘लो सिजन’ मा पनि नेपालका गन्तव्यमा भइरहेका अन्तर्राष्ट्रियस्तरका ठूला–ठूला ‘इभेन्ट’ हरुले पर्यटकीय चहल–पहल बढाएको छ, पर्यटक आगमनमा पनि सघाउ पुगेको छ”, उनले भने ।
         
    डिसेम्बर १५ तारिखपछि नेपालमा पर्यटकको आगमन घट्दै जान्छ । विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटक घर फर्किने चलन छ । यही सन्दर्भमा पर्यटक चाँडो घर नफर्किऊन् भनेर नेपालका विभिन्न गन्तव्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले ठूला–ठूला ‘इभेन्ट’ सञ्चालन हुन थालेका छन् । विशेषगरी विगत २५ वर्षदेखि रिनन्तर रुपमा पोखरा सडक महोत्सव भइरहेको छ । यो पर्यटक आकर्षण गर्ने महत्वपूर्ण माध्यम बनेको छ । यस्तै, अघिल्लो वर्षदेखि सुरु भएको ड्रागन बोट रेस प्रतियोगिता, अन्तर्राष्ट्रिय बेलुन महोत्सव आदि उत्सव र गतिविधिले नेपालको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ठूलो मद्दत पुगेको व्यवसायीको बुझाइ छ ।
    boat.jpg
        
    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले पर्यटकीय गन्तव्यमा भइरहेका महत्वपूर्ण इभेन्टले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । “राम्रो याममा धेरै मेहनत गर्नु पर्दैन, अफ सिजनमा बढीभन्दा बढी गतिविधिले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ, अहिले भइरहेका अन्तर्राष्ट्रिय मेला महोत्सवले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा पहिचान गराउँछ, यसले विदेशी पर्यटक तान्छ ।” उनले  भने ।
         
    होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्य पनि नेपालमा भइरहेका अन्तर्राष्ट्रियस्तरका महोत्सव र राष्ट्रियस्तरका पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने बताए । “पर्यटक घट्ने समयमा हुने पर्यटनका गतिविधि र अन्तर्राष्ट्रिय उत्सवले गन्तव्यको पर्यटनलाई चलायमान बनाउनाका साथै विदेशी पर्यटकलाई आकर्षण गर्न राम्रो भूमिका खेल्छ”, उनले  भने ।     
     
    महासचिव शाक्यका अनुसार अफ सिजन भएकाले अहिले होटल क्षेत्रको अकुपेन्स करिब ३० प्रतिशत मात्रै छ । काठमाडौँ नजिकका धुलिखेल, नगरकोट तथा पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा आन्तरिक र विदेशी पर्यटकको बाक्लो चहल–पहल छ ।
     
    अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु
     
    विभिन्न अवसरमा आयोजना हुने पर्यटनसम्बन्धी मेला–महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ । बेलुन नेपाल प्रालिको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा बेलुन उडाइनाका साथै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुने जनाइएको छ । महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने आयोजकको विश्वास छ ।
     
    पुस १३ देखि पोखरा सडक महोत्सव
     
    नयाँ वर्ष–२०२५ का अवसरमा यही पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुँदैछ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा महोत्सव हुन लागेको हो । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा पाँच लाख बढीले सहभागिता जनाउने आयोजकको दाबी छ । रेबान सौराह (चितवन) ले १४ फेब्रुअरीमा पाँचदिने सडक महोत्सव गर्दैछ भने रेबान केन्द्रले नेपाली नयाँ वर्षलाई लक्षित गरेर काठमाडौँको दरबारमार्गमा सडक महोत्सव गर्ने जनाएको छ ।
         
    रेबानका अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पु¥याउन पनि मद्दत गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गरिँदै आएको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवको माध्यमबाट पर्यटन प्रवद्र्धनका साथै कला संस्कृति प्रवद्र्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई सफल बनाउन पनि पर्यटकीय मेला महोत्सवले सहयोग पुग्ने बताइएको छ ।
     
    पुस १४ देखि नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस     
     
    नेपालको पर्यटन प्रवद्र्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता यही पुस १४ र १५ गते आयोजना हुँदैछ ।  पोखरामा हुने दोस्रो संस्करणको ड्रागन बोट रेसमा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० समूहको सहभागिता रहनेछ ।      
     
    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह–आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend