काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने ट्यांकर सम्बन्धी समस्या समाधान नगरेको भन्दै तीनवटा संस्थाले संयुक्त रुपमा आगामी आइतबारदेखि आन्दोलनको घोषणा गरेका छन् ।
अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्याँकर चालक संघ अमलेखगञ्जले आइतबारदेखि संयुक्त रुपमा आन्दोलन गर्ने जनाएको छ । डिपोबाट लोडिङ्ग–अनलोडिङ्ग ठप्प पार्नेसम्मको आन्दोलनको कार्यक्रम उनीहरुले तयार पारेका छन् ।
पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिब राम ठकुरीका अनुसार तीनवटै संस्थाहरुले निजी ढुवानी टैंक–ट्रक व्यवस्थापन गर्नुपर्ने, बरौनी–अमलेखगञ्ज रुटमा गुड्ने १०४ वटा टैंक ट्रक व्यवस्थापन गर्नुपर्ने, एक थान टैंक ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने लगायतका माग राखेर तीनवटै संस्थाले संयुक्त रुपमा आन्दोलन गर्न लागेको हो ।
ठकुरीका अनुसार तीनवटै संस्थाले पटक पटक नेपाल आयल निगममा ज्ञापन पत्र बुझाएको थियो । तर हालसम्म उक्त समस्याप्रति निगमले चासो नदेखाएकाले आन्दोलनमा जान बाध्य भएको ठकुरीले जानकारी दिए ।
अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष सुदामा साहकाअनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको परियोजनाअनुसार निकट समयमै पाइपलाइनबाट पेट्रोल पनि ढुवानी हुने भएको छ ।
पाइपलाइनबाट पेट्रोलसमेत ढुवानी भएपछि भारतको बरौनीबाट उक्त इन्धन ढुवानी गर्दैआएका ट्याँकर व्यवसायविहिन र चालक रोजगारविहिन हुने समस्या सिर्जना भएको छ ।

