काठमाडौँ । लमजुङमा पहिलो पटक पात बजाउने प्रतियोगिता सञ्चालन हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठानले लमजुङको दोर्दी गाउँपालिकामा पात बजाउने प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको नवौँ स्थापना दिवसको अवसर पारेर यसवर्ष पात बजाउने प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिए ।
यसअघि लोपोन्मुख अवस्थामा रहेको बाघचाल खेलको संरक्षणका लागि प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको प्रतिष्ठानले यसवर्ष पात बजाउने प्र्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको पात बजाउने परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यका साथ पात बजाउने प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष नवराज पहाडीले बताए ।
दोर्दी गाउँपालिका– ८ को हिलेबेसीमा आउँदो माघ १७, १८ र १९ गते कार्यक्रम सञ्चालन गरिने उनले बताए । केही दशक अघिसम्म पहाडका वनपाखामा घन्किने पातको सुशेली हिजोआज सुन्न छाडिएको छ । ‘लोपोन्मुख पात बजाउने कलाको संरक्षण र प्रवद्र्धनका लागि यो वर्षदेखि सो प्रतियोगिता गरिने भएको हो ।’
जुन समयमा मादलको समेत पर्याप्तता थिएन त्यो समयमा पात बजाउने, त्यसैमार्फत वारीपारीका साथी संगीलाई बोलाउने, मनका विरह बेथा वा खुशी पातको धुनमार्फत पस्कने काम गर्ने गरिन्थ्यो तर पछिल्लो पुस्ताले यसको नामसम्म नसुनेको स्थिति छ भने पात बजाउन जान्ने त धेरै परको भयो । पात बजाउनु पनि एक कला र संस्कृति थियो– लोप हुने स्थितिमा पुगेको हुँदा त्यसको जगेर्नाका लागि समेत यो प्रतियोगिताको आयोजना गर्ने सोच र योजना बनाएको अध्यक्ष पहाडीले बताए ।
पात बजाउने प्रतियोगितामा पहिलो हुनेलाई सात हजार रुपैयाँ, दोस्रो हुनेलाई पाँच हजार रुपैयाँ तेस्रो हुनेलाई तीन हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुईजनालाई जनही २÷२ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
यसैगरी बाघचालको पहिलो पुरस्कार १० हजार, दोस्रो सात हजार, तेस्रो पुरस्कार पाँच हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई २५ सयका दरले पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, ठाडोभाका प्रतियोगिताको पुरस्कार विगत वर्षजस्तै पहिलो हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले जनाकारी दिए ।
उनका अनुसार ठाडोभाका प्रतियोगितामा सहभागी हुने टिमलाई विगतका वर्षझैं गीत गाएपछि तीन हजार रुपैयाँ बाटोखर्च प्रदान गर्ने नीति कायमै रहेको छ ।

