काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयाेगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएकाे छ।
सडक तथा नाला निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर रहेको छ। अर्यालविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। उनी नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए।
आयोगले तत्कालीन प्रशासकीय अधिकृत गुरुङ र कमलप्रसाद गौतम, इञ्जिनियरहरू नवीन थापा, सूर्यप्रसाद पौडेल, सुदीप आचार्यविरुद्ध मुद्दा दायर भएको छ। उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल र मंगलदेवी थापा मगर, सचिव कृष्णप्रसाद काफ्ले र विष्णुकुमारी विक, कोषाध्यक्षहरू हिमकुमारी केसी र एकनारायण देवकोटालाई प्रतिवादी बनाइएको छ।
उनीहरूले गाउँपालिका वडा नं. १ मा रहेको स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेर सत्ताइस लाख पाँच हजार एघार र त्यहीको तल्लो बजारको सबै ठाउँको ढलान भत्किई आठ लाख चौतीस हजार तीन सय बीस रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको अख्तियारले जारी गरेकाे विज्ञेप्तीमा उल्लेख छ ।

