काठमाडौँ । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै छन्।
यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजनीतिक योजनाबारे जानकारी गराउने भएका हुन्।
यसका लागि उनले आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्। पूर्वउपप्रधानमन्त्री एवं गृह र रक्षामन्त्रीसमेत रहेका उनले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे’ आज घोषणा गर्ने उनले बताएका छन्।
गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्।

