काठमाडौं । पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरूको विषयमा २२ वटा उजुरी परेको छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा २२ उजुरी परेको समितिले जानकारी दिएको हो । समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८,ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय ३, खानेपानी मन्त्रालय २, सहरी विकास मन्त्रालय ४, रक्षा मन्त्रालय १ र अन्य ४ गरी २२ उजुरी समितिमा परेको समिति सभापति दीपकबहादुर सिंहले बताए ।
उनले समितिमा कतिपय उजुरीहरू दोहोरो वा तेहेरो रुपमा परेको बताए । उनले समितिमा परेका २२ उजुरीको विषयमा सांसदहरूको छलफलबाट समाधानको लागि पहल गर्ने निर्णय भएको बताए । उनले हाइड्रोपावर निर्माण, प्रशारणलाइनका विषयमा परेका उजुरीको विषयमा अध्ययन गर्नको लागि पूर्व ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्य उपसमिति गठन गरिएको बताए ।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका उजुरी तथा सडक मापदण्डका विषयमा अध्ययनको लागि पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा अर्को उपसमिति बनाएको बताए ।

