२०८३, आश्विन २१ गते

images
  • समाचार
  • फागुनमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन...

फागुनमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

फागुनमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

बुधवार, पौष १७ २०८१०५:०५
बुधवार, पौष १७ २०८१०५:०५
  • images

    काठमाडौँ । आगामी फागुनमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ र १७ फागुनमा काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो ।

    मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवर्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।  

    मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले सम्मेलनमा सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्र नभई प्रवद्र्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने देखिएकाले सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

    उनका अनुसार विशेषगरी वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमाथि समेत छलफल हुनेछ ।

    उनले रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित स्थानीय तह, प्रदेश र संघ सरकार, निजी क्षेत्र, अनुसन्धानकर्ता, विकास साझेदार, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा छानिएका युवा गरी पाँच सयजनाको सहभागिता रहने जानकारी दिए ।

    सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिइने उनको भनाइ छ । सम्मेलनका लागि मन्त्रालयले श्रमसचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति बनाएको छ ।

    सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा यस्तो सम्मेलन आयोजना गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend