२०८३, आश्विन २१ गते

images

एनसेलको सहकार्यमा धुलिखेल अस्पतालले सुरु गरेको टेलिमेडिसिनः एक लाख बढी लाभान्वित

एनसेलको सहकार्यमा धुलिखेल अस्पतालले सुरु गरेको टेलिमेडिसिनः एक लाख बढी लाभान्वित

सीएनएन खबर
शुक्रवार, पौष १९ २०८११२:३५
सीएनएन खबर
शुक्रवार, पौष १९ २०८११२:३५
  • images

    काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले धुलिखेल अस्पतालसँगको समन्वयमा सुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । 

    यो एक स्थानमा बसेर भिडिओ कलमार्फत विशेषज्ञ डाक्टरसँग कुरा गरेर गर्ने उपचार विधिसम्बन्धी सेवा हो । 

    एनसेलको सहयोगमा नेपालमा पहिलो पटक अत्यावश्यक किटसहित धुलिखेल अस्पतालले ४ वटा स्वास्थ्य केन्द्रबाट टेलिमेडिसिन सेवा सुरु गरेको थियो । 

    सन् २०१९ मा चारवटा स्वास्थ्य केन्द्रबाट सुरु भएको सेवा हाल पूर्ण रुपमा नभएपनि आंशिक सेवा सहित अस्पतालका अन्य १६ वटा केन्द्रमार्फत पनि संचालन गर्दै आएको छ । 

    चारवटा केन्द्रमा एनसेलले किट उपलब्ध गराएको छ भने बाँकी केन्द्रमा किटरहित सेवा प्रवाह हुँदै आएको छ । बागमती प्रदेश सरकारको सहयोगमा २ वटा स्वास्थ्य चौकीमा उक्त सेवा सुरु भएको हो । 

    दूरदराजका सेवाग्राहीलाई सामान्य सेवाका लागि अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै अस्पतालले सीमित सेवा केन्द्रबाट टेलिमेडिसिन सेवाको सुरुवात गरेको थियो । सेवा सुरु गरेको छोटो समयमा नै हाल २० वटा सेवाकेन्द्रबाट झन्डै डेढ लाख सेवाग्राहीलाई अस्पतालले सेवा प्रवाह गर्दै आएको अस्पतालको रिसर्च एन्ड डेभलपमेन्ट कोअर्डिनेटर निशा थापा बताउँछिन् । 

    एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहलअन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरू गरेको थियो ।

    पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका एक लाख बढि स्थानीयवासीहरूले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएको कम्पनीले जनाएको छ ।

    एनसेलले सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पतालअन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रहरूमार्फत कार्यक्रम सञ्चालनमा गरेको थियो । 

    एनसेलले धुलिखेल अस्पतालसँगको संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण छाप छोड्न सफल भएको जनाएको छ । उक्त केन्द्रबाट स्थानीयहरूले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग, छालाजन्य रोग लगायतका रोगहरूको उपचार सेवा पाइरहेका छन् । 

    यो सहकार्यको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जस अन्तर्गत कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले व्यक्तिगत स्वास्थ्य सेवा पाउछन् । सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन् र साथै उनीहरुको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्याङ्कमा आधारित भई आवश्यक कार्यहरु पनि गरिन्छ ।

    के हो टेलिमडिसिन सेवा ?

    टेलिमेडिसिन अर्थात् दूर–चिकित्सा, चिकित्सा क्षेत्रमा भएको नविनतम विकासहरुमध्ये पर्दछ । सामान्य हिसाबमा भन्नुपर्दा विभिन्न प्रविधिको प्रयोग गरेर एक ठाँउको बिरामीलाई अर्को ठाँउको चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नुलाई नै टेलिमेडिसिन सेवा भनेर बुझ्न सकिन्छ । एनसेलले यो परियोजना लागु गर्नका लागि चार वटा आधुनिक टेलिमेडिसिन किट प्रदान गरेको छ । 

    सामान्य परामर्शदेखि लिएर, भिडिओ कल, वेबिनार आदिसम्म हुनसक्छ । टेलिमेडिसिनको माध्यमबाट बिरामीको उपचारको लागि परामर्श मात्र नभई आजभोलि यसको प्रयोग गरेर एक ठाँउका चिकित्सकले अर्को ठाँउका बिरामीको शल्यक्रिया समेत गर्ने गरेका छन् । टेलिमेडिसिन स्वास्थ्यकर्मीहरुबीच चिकित्सा क्षेत्रमा भएका नवीनतम खोज अनि अनुसन्धानबारेका अनुभव साटासाट गर्ने माध्यम पनि हो ।

    एक ठाउँमा सफल भएको उपचार पद्धति अर्को ठाउमा प्रयोग गर्न सक्ने अवसर पनि टेलिमेडिसिनको माध्यमबाट सम्भव हुन्छ । स्वास्थ्यकर्मीहरूले आफ्नो ज्ञान, सीप, क्षमता बढाउने सजिलो माध्यम पनि यो हुन सक्छ ।

    telemedicine2.jpeg

    निःशुल्क टेलिमेडिसिन सेवा

    धुलिखेल अस्पतालअन्तर्गतका रहेका स्वास्थ्य केन्द्रहरुले हाल निःशुल्क रुपमा टेलिमेडिसिन सेवा उपलब्ध गराउँदै आएका छन् । केन्द्रमा आउने सेवाग्राहीले ४० रुपैयाँको टिकट काटेपछि ओपीडी सेवा तथा टेलिमेडिसिन सेवाका लागि अन्य कुनै शुल्क बुझाउनु पर्दैन ।

    विगत ३ वर्षदेखि काभ्रेपलाञ्चोकको बोल्डे सेवा केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट पुरन रावत टिकटका भरमा उपचार हुने गरेको बताउँछन् । 

    ‘हामीले टिकटका लागि ४० रुपैयाँ लिन्छाैँ । टिकट काटिसकेपछि सेवाग्राहीको अवस्थाका आधारमा ओपीडी तथा टेलिमेडिसिन सेवा प्रवाह हुन्छ । यसका लागि छुट्टै शुल्क लाग्दैन’, उनले भने, ‘डाक्टरले दिनुभएको औषधिका लागि केही शुल्क तोकिएको छ । धुलिखेल अस्पतालको फार्मेसीमा जुन शुल्कमा औषधि पाइन्छ, त्यही शुल्कमा हामीले औषधि दिन्छौँ । केही सेवाग्राहीले लैजानुहुन्छ, केहीले स्वास्थ्य चौकीबाट लैजाने भन्दै लिनुहुन्न ।’

    उनले हाल स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुमध्ये अधिकांश छालाजन्य रोगका बिरामीहरुले टेलिमेडिसिन सेवा लिने गरेको बताए । 

    ‘केन्द्रमा उपलब्ध रहेको किटमा जडान भएको सफ्टवेयर र क्यामराको माध्यमबाट डाक्टरले सिधा आँखाले हेरेसरह नै देखिन्छ, सफा देखिने भएपछि उहाँहरुको आकर्षण बढेको पाइएको छ’, उनले भने । 

    छैन ठूला अस्पताल जानुपर्ने बाध्यता 

    दूरदराजका स्वास्थ्य केन्द्रमा नै टेलिमेडिसिन सेवा पाएपछि सामान्य उपचारका लागि ठूला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । काभ्रेपलाञ्चोकको बोल्डेमा रहेको सेवा केन्द्रमा आउने आधाभन्दा धेरै बिरामी टेलिमेडिसिन सेवाकै कारण ठूला अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएको एचए रावत बताउँछन् । 

    ‘पहिला यहाँ आउने धेरै बिरामीहरु कि धुलिखेल अस्पताल कि काठमाडौँका विभिन्न अस्पतालमा रिफर हुने गरेको थियो । हामीले नसक्ने भएपछि बाध्य भएर उहाँहरुलाई रिफर गर्नुपर्ने थियो । तर, अहिले त्यो बाध्यताको अन्त्य भएको छ’, उनले भने, ‘हामीले अतिआवश्यक हुँदा चौबीसै घण्टा टेलिमेडिसिन सेवा उपलब्ध गराएका छौँ, जसका कारण काठमाडौँका ठूला अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता कम भएको छ ।’

    उनका अनुसार आउटरिच सेन्टरले नियमित रुपमा बिहान ११ बजेदेखि ३ बजेसम्म ओपिडी तथा टेलिमेडिसिन सेवा प्रवाह गर्दै आएको छ । नियमित बाहेक अत्यावश्यक पर्दा चौबीसै घण्टा सेवा प्रवाह गर्ने गरिएको उनी बताउँछन् । 

    तोकिएको समय बाहेक कोही बिरामी अति आवश्यक सेवाका लागि केन्द्रमा आइपुगेमा धुलिखेल अस्पतालसँगको समन्वयमा तुरुन्तै टेलिमेडिसिन सेवा प्रवाह गर्ने गरिएको उनको भनाइ छ । 

    उनले आउटरिच सेन्टरबाटै भिडियो कल मार्फत डाक्टरसँग आफ्नो समस्या राख्न सकिने भएपछि ठूला अस्पतालमा जादा लाग्ने खर्चसँगै समयको बचत भएको बताए । 

    telemedicine3.jpeg

    फलोअपका लागि उपयुक्त 

    धुलिखेल अस्पतालकी रिसर्च कोडिनेटर थापा टेलिमेडिसिन सेवा उपचारसँगै फलोअपका लागि समेत प्रभावकारी देखिएको बताउँछिन् । 

    अस्पतालका १८ वटा सेवा केन्द्र र २ वटा स्वास्थ्यचौकीबाट भिडिओ कलमा धुलिखेल अस्पतालमा रहेका डाक्टरसँगको सम्पर्कमा हुने उपचार सँगै उपचार गरेका फलोअपमा आउने बिरामीका लागि समेत प्रभावकारी बनेको हो । 

    हाल अस्पतालले विभिन्न स्थानमा गरेको आखाँ शिविरमा मोतियाबिन्दुको अपरेसन गरेका बिरामीहरुको नियमित फलोअप भिडिओकलमार्फत हुने गरेको छ । 

    बोल्डे सेवा केन्द्रका ४५ जना मोतियाबिन्दुको अपरेसन गरेका बिरामीसँगै बलरा लगायतका सेवा केन्द्रमा अपरेसन गरेका झण्डै डेढ सय बिरामीले फलोअप भिडिओ कलमार्फत गरेका थिए । 

    कम्पनीका अनुसार यो कार्यक्रमको विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात् पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जस अन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका स्थानीयहरूले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन् । 

    २० आउटरिच सेन्टरमार्फत सेवा

    धुलिखेल अस्पतालले हाल १८ वटा आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र) तथा बागमती प्रदेश सरकारका २ वटा स्वास्थ्य केन्द्र गरी २० वटा स्थानबाट टेलिमेडिसिन सेवा प्रवाह गर्दै आएको छ । 

    जसमा ४ आउटरिच सेन्टरमा अत्यावश्यक किट उपलब्ध गराइएको छ । निजी टेलिकम सेवा प्रदायकको रुपमा रहेको एनसेलको सहयोगमा अस्पतालले विभिन्न ४ आउटलेटमा टेलिमेडिसिन किटको व्यवस्था गरेको हो । एनसेलले प्रतिकिट डेढ करोड रुपैयाँका दरले टेलिमेडिसिन किटमा ६ करोड रुपैयाँ लगानी गरेको थियो । 

    एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको जनाएको छ । 

    ‘हामीले आफ्नो सीएसआर कार्यक्रमअन्तर्गत नेपालमा नै पहिलोपटक अतिआवश्यक किटको माध्यमबाट दूरदराजका मानिसलाई सहयोग गर्ने गरी उक्त उपकरण सहयोग गरेका थियाैँ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्, ‘पहिलो चरणमा परीक्षणका लागि ४ स्थानमा टेलिमेडिसिन किट वितरण गरेका थियाैँ । यो निकै प्रभावकारी देखिएपछि थप ४ स्थानमा लाने योजना रहेको छ।’

    धुलिखेल अस्पतालले हाल सिन्धुपाल्चोकको भानुपार्टी, काभ्रेको बालुवा, बोल्डे, दाप्चे र ढुंगेखर्क, धादिङको छत्रेदेउराली, सोलुखुम्बुको र्दोपु, सिन्धुलीको डुम्जा र सिन्धुपाल्चोकको हिन्दी हेल्थ सेन्टरबाट टेलिमेडिसिन सेवा प्रवाह गर्दै आएको छ । 

    यस्तै, काभ्रेकै कात्तिकेदेउराली, सलम्बु, दोलखाको किर्नेटार, सिन्धुपाल्चोकको मनिखर्क, पवर्तको फलेवास, नुवाकोटको थानसिंङ, सलार्हीको बलेरा, तनहुँको पुटार र दोलखाको दोलखा अस्पतालमा टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ । 

    बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले परीक्षणस्वरुप २ वटा स्वास्थ्य केन्द्रमार्फत उक्त सेवा प्रदान गर्दै आएको छ । सुरुवाती चरणमा रामेछापको मन्थली स्वास्थ्यचौकी र सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्रबाट टेलिमेडिसिन सेवा दिँदै आएको छ । 

    २ सेवाकेन्द्रको नतिजा राम्रो भएपछि अस्पतालले रसुवाको जिवजिवे ग्रामीण अस्पताल, धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा थपको तयारी थालेको छ । 

    हेल्थ असिस्टेन रावत पछिल्लो समय इन्टरनेटमा देखिएको समस्या र अनियमित विद्युत आपूर्तिका कारण केही असहज हुने गरेको बताउँछन् । ‘सबै समयमा इन्टरनेटको गति एकै छैन्, बेलाबेलामा गैराछ, बिरामीले भिडियोमा डाक्टरसँग आफ्नो समस्या राख्नुहुन्छ, छिनछिनमा गैराख्ने इन्टरनेटका कारण अहिले केही असहज हुन थालेको छ’, उनले भने, ‘इन्टरनेट राम्रो भएन भने आफ्नो कुरा राम्रोसँग राख्न सकिदैन्, बिरामीले राम्रोसँग कुरा राख्न नसकेपछि डाक्टरलाइ समेत अप्ठ्यारो हुन्छ ।’

    उनले भिडियोमा कुराकानी गरिरहँदा लाइन गैहाल्यो भने पुनः उपकरण खोलेर सुरुदेखि नै कुराकानी गर्नुपर्ने समस्या रहेको बताए । 

    सामाजिक सेवामा एनसेल

    एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । 

    एनसेलले टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रमसँगै रिङरोडको कोटेश्वर–कलङ्की १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, ६० वटा सरकारी विद्यालयहरुमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरु हुन् ।

    आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदायस्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । 

    एनसेलले विभिन्न सामाजिक पहलहरुमा २ अर्ब रुपैयाँभन्दा बढिको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend