काठमाडौँ । भन्सार विभागका नासु सहित ११ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
जसमा भन्सारका नासु खड्कासहित उक्त सुन प्रकरणमा जोडिएका दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापा छन् ।
उनीहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्र्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
यसअघि उनीहरूविरुद्ध सीआईबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो । गत १६ भदौमा यो मुद्दाको फैसला भएको थियो । जसमा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैल र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको थियो ।

