काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंक र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले २०७५ पुस १० गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो । यसका साथै ०८१ पुस ९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको प्रवर्द्धकका रुपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।
परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक र संस्थापकको लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब गरी कूल १६ अर्ब रहेको छ ।
आयोजना २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएको छ । यो ठूला स्वतन्त्र उर्जा उत्पादकमध्ये एकका रुपमा रहने विश्वास लिइएको छ ।

