काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले विभिन्न मन्त्रालयको बरण्डामा रहेका कर्मचारीको सरुवा तथा पदस्थापना गर्न निर्देशन दिएपछि केही कर्मचारीको सरुवा भएको छ ।
सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयले केही कर्मचारीको सरुवा तथा पदस्थापना गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि मन्त्रालयमा जिम्मेवारी बिहीन रहेका ३० जना उपसचिवको एकै साथ सरुवा गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा ४ जना, ४ जनालाइ जिल्ला समन्वय समितिमा र १४जनालाई मन्त्रालयमा र बाँकी ८ जनालाई विभिन्न आयोगको जिम्मेवारी दिएको हो ।
सूचीअनुसार भुपेन्द्र पाण्डेलाई बागमती नगरपालिका सर्लाही, ओम प्रकाश महत्तोलाई हरिवन नगरपालिका सर्लाही, धर्मानन्द जोशीलाई बागचौर नगरपालिका सल्यानमा सरुवा गरिएको हो ।
प्रधानमन्त्रीको निर्देशन अनुसार सोमबार नै गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारी सहित १२ जिल्लाका सीडीओको सरुवा तथा पदस्थापना गरेको छ ।

