२०८३, आश्विन २१ गते

images

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

सीएनएन खबर
मंगलवार, पौष २३ २०८११२:४८
सीएनएन खबर
मंगलवार, पौष २३ २०८११२:४८
  • images
    कठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरेका हुन् ।
     
    ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए । उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनले बताए । 
     
    ‘पहिलोपटक ताल क्षेत्रमा जलपन्छी गणना गरेका छौँ,’ डगौराले भने, ‘रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरेका छौँ ।’ ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात् ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उनले उल्लेख गरे । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ थियो । 
     
    आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।
     
    नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का गणकहरुले कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित जाखोर तालसँगै महादेवा तालमा पनि जलपन्छी गणना गरेका छन् । तालमा कैले टाउके हाँस, मालक हाँस, सिजुरी, सुनगजुरेलगायत चराका बथान देखिएको उनको भनाइ थियो ।
     
    घोडाघोडी नकरोडताल, रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, कोइलही ताल र कर्णाली जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताइएको छ । अन्य ताल तलैया र नदीमा जलपन्छी गणना भइरहेको छ । कञ्चनपुरको पुरैनी तालमा ५५ प्रजातिका जलपन्छी भेटिएका छन् । 
     
    उत्तरी धुव्र रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो हुने क्षेत्रहरुबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा यहाँका विभिन्न तालतलैया, नदी र वनजङ्गल क्षेत्रमा आउने गर्दछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend