काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका छन् ।
एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गरे ।
‘एमालेमा अब कुनै पनि पूर्व समूहहरू छैनन् । हामीले पूर्व समूह खोज्नतिर होइन, वर्तमानको एमाले खोजौं । भरभराउँदो आजको एमाले खोजौं,’ अध्यक्ष ओलीले भने, ‘हामी यथास्थितिवादी होइनौं, क्रान्तिकारी हौं । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुुपर्छ ।’
अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरू लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट गरे ।
उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेस सहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरू सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरू चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गरे ।

