काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको आठौं पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ ।
बैठकले विभिन्न १४ बुँदे प्रस्ताव पास गरेको छ । मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी भएर बनेको सरकारसँग जनताका धेरै अपेक्षा रहेका उल्लेख गर्दै सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा रहेको बैठकले निर्णय गरेको छ ।
‘सत्तारूढ दलहरू बीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ, नेकपा एमाले यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसम्भव योगदान गर्न प्रतिबद्ध छ,’ बैठकले पास गरेको प्रस्तावमा उल्लेख छ ।

