काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङमा निकालिएको ठेक्कामा छानबिन अघि बढाएछि डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ।
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको समेत लगानी भएको आयोजनामा मिलोमतो भएको तथ्य बाहिरिएपछि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का नै रद्द गरेको हो। आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब स्वपूँजी हुने जनाइएको छ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनामा सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का रद्द भएको जनाएको छ। गत जेठ २० गते आह्वान भएको १६ अर्बको ठेक्कामा ६ वटा कम्पनीले आवेदन दिए पनि ऊर्जामन्त्री खड्काको अग्रसरतामा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीलाई ठेक्का दिलाउने गरी सेटिङ गरेको आरोप लागेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जसरी पनि हटाउन लागी परेका खड्का आफैँ अर्बौँको ठेक्का मिलोमतो गरेको अभियोगमा छानबिनमा परेका छन्।
१६ अर्बको ठेक्कामा मन्त्री खड्काले आफूलाई दुई प्रतिशत र प्रस्पिर्धामा सहभागी बाँकी चारवटा कम्पनीलाई एक/एक प्रतिशत कमिसन बापतको चेक दिएर ठेक्का सेटिङ गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि प्राविधिक कारण देखाएर हतारहतार ठेक्का रद्द गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जारी गरेको विज्ञप्तिमा भने प्राविधिक कारण भएको दाबी गरिएको छ।
उनले जारी गरेको सूचनामा भनिएको छ, ‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्यांकन गर्नुपर्ने कार्य आफैमा संवेदनशील विषय हो, ठेक्का मूल्यांकन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरिद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्यांकन गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ।’
अर्ध जलासययुद्ध जगदुल्ला जलविद्युत् आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा बनाउने योजना अघि सारिएको छ।

