काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फको बहस सकिएको छ ।
प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।आजै जाहेरवालाको तर्फबाट बहस सुरु हुनेछ ।
न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस भइरहेको हो । जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार सरकारी वकिलको जवाफी बहस भने भोलि ९बिहीबार० मात्र हुनेछ।
बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्।
यसैबीच सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस सकिएसँगै निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अदालत बाहिर सोमबार र मंगलबार भएको गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
पोखराको शहीदचोक, जिल्ला अदालत आसपास राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ छिर्ने मुखमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यी ठाउँमा अत्यावश्यक बाहेक सवारीसाधन जान रोक लगाइएको छ भने अदालती वा प्रशासनिक कामका लागि जानेहरूले पनि अनिवार्य काजगाज नदेखाई जान दिइएको छैन । अदालत बाहिर सोमबार र मंगलबार अनपेक्षित गतिविधि भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । त्यस्तै, बहस सकिने बेला नजिकिएपछि झनै भीड जम्मा हुनसक्ने आशंका प्रहरी प्रशासनले गरेको छ ।

