काठमाडौँ । निर्माणको सिजन सुरु हुन लागेसँगै पछिल्लो समय सिमेन्ट उद्योगीहरुले आफूखुशी सिमेन्टको मूल्य बढाउन थालेका छन् । केही समयअघिसम्म प्रतिबोरा ओपीसी सिमेन्टको मूल्य ५ सय रुपैयाँ रहेकोमा हाल ९ सय रुपैयाँ पुगेको हो ।
उपभोक्ता अधिकारकर्मीहरुले सिमेन्ट उत्पादकले आफूखुशी सिमेन्टको मूल्य बढाएको भन्दै विरोध जनाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगीले सिमेन्टको मूल्य बढाएको भन्दै आपत्ति जनाएका छन् ।
उनले बिहीबार प्रधानमन्त्री केपीशर्मा ओलीलाई पत्र पठाउँदै सिमेन्टमा भएको कृत्रिमा मूल्यबृद्धि नियन्त्रण र नियमन गर्न आग्रह गरेका छन् ।
उनले निर्माणका लागि आवश्यक पर्ने डण्डी, बालुवा पुरानै दर रेटमा उपलब्ध हुँदै आएकोमा सिमेन्टको मात्र मूल्य बृद्धि भएको भन्दै प्रधानमन्त्री गुहारेका हुन् ।
‘भौतिक विकास निर्माणको लागि अति आवश्यक वस्तुको रुपमा रहेको बिगत एक वर्ष अगाडीसम्म सिमेन्टको मूल्य प्रतिबोरा ५ सय रुपैयाँमा सहज प्राप्त भई रहेकोमा केही समयदेखि क्रमशः मूल्यबृद्धि हुँदै हाल प्रतिबोरा खुद्रा मूल्य नै ९ सय रुपैयाँसम्म पर्न थालेको हाम्रो आन्तरिक अनुगमनको क्रममा जानकारी हुन आएका छ’, उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘सिमेन्टसँगै भौतिक निर्माणको लागि चाहिने डण्डीको मूल्य हालसम्म पनि साविककै दररेट अनुसार प्रति किलो अधिकतम ९५ रुपैयाँ र खोलाको बालुवा प्रति क्यू फिट १२ रुपैयाँमा पाई रहेको र रोडाको प्रति क्यू फिट १४ रुपैयाँमा पाई रहेको अवस्थामा सिमेन्टको मूल्य अस्वभाविक रुपमा बडाइएको पाइयो ।’
उनले सरकारी सिमेन्ट उद्योगहरु हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको उतपादन बन्द भएको मौका छोपेर निजी उद्योगीले आफूखुशी मूल्यबृछि गरेको पाइएको उनले भनाई छ ।
उनले सरकारी उत्पादन बन्द भएको मौका छोपी निजी उद्योगीले सिण्डिकेटिङ र कार्टेलिङ गरी अफ सिजनमा भएको घाटा र नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइन प्रयोगको रकम मूल्य बढाएर परिपूर्ति गर्न सिमेन्ट उद्योगी लागि परेको बताए ।

