काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ । जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले थुनछेक बहस सकिएकाले आज साँझसम्ममा इजलासबाट थुनछेकको आदेश हुनसक्ने जानकारी दिए ।
उनका अनुसार अहिले बहस सकेर भित्र आदेश लेखनको काम भैरहेको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस सुरु भएको थियो ।
उक्त मुद्दाका आरोपी एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।
आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधीवक्ता काफ्लेलगायतले जवाफी बहस गरेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आजै हुने न्यायाधीवक्ता काफ्लेले बताए ।
लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायत जोडिएका छन् । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा रहेको न्यायाधीवक्ता काफ्लेले बताए ।
भित्र आदेश लेखनको काम भैरहँदा जिल्ला अदालत बाहिर रास्वपाका कार्यकर्ता तथा सहकारी पिडीतहरुको बाक्लो उपस्थिति रहेको छ । अहिले डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा छन् ।
प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
निषेधित क्षेत्रबाहिर रास्वपा कार्यकर्ता र सहकारी पीडित छन् । अदालतभित्र रवि–निकीतालगायत विश्राम कक्षमा राखिएको छ ।

