काठमाडौँ । जिल्ला अदालत कास्कीले पछिल्लोपटक मुद्दा दायर भएका सूर्यदर्शन सहकारीका ७ जना आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले सातै जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन् । उनको आदेश अनुसार सबैभन्दा धेरै धरौटी छविलाल जोशी बन्जाडेसँग मागिएको छ । उनीसँग ८८ लाख रुपैयाँ मागिदा रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
त्यसैगरी रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५/५ लाख र कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ ।
जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन् । सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ ।
छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । यस्तै, सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो भने लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनीहरु दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो ।

