काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
साथै, रवि लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाका लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो ।
लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि कास्की प्रहरीले परिवारको जिम्मा लगाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। कास्की जिल्ला अदालतबाट धरौटी बुझाएपछि लामिछानेलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

