२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा...

रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

शुक्रवार, पौष २६ २०८१०७:०६
शुक्रवार, पौष २६ २०८१०७:०६
  • images

    काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

    लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । 

    अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने,  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई  पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई  एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

    अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । 

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend