काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले ग्यासमा दुईथरी मूल्य लागू गर्ने तयारी अन्तिम भएको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार निगममा आयोजित कार्यक्रममा बोल्दै उनले लामो समयको प्रयासपछि ग्यासमा दुईथरी मूल्य लागूको तयारी भएको बताएका हुन् ।
उनले निगमले खाना पकाउने एलपी ग्यासमा ठूला रकम अनुदानमा खर्च गरेको भन्दै खाना पकाउने ग्यास र व्यापारीक ग्यासमा छुट्टा छुट्टै मूल्य लगाउने तयारी भएको बताए । उनका अनुसार निगमलाई प्रति सिलिण्डर ३ सय रुपैयाँको हाराहारिमा नोक्सान छ ।
यस्तै, उनले माघदेखि नै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको काम समेत सुरु गर्ने बताए । उनले पेट्रोलियम पदार्थको आयातमा नेपाल भारतको भर पर्नुपर्ने र पछिल्लो समय विश्वका धेरै देशहरुले इथानोल प्रयोगमा ल्याईसकेको भन्दै उनले निगमले समेत सो कुरा कार्यान्वयन गर्ने बताए ।
उनले निगम पेट्रोलियम पदार्थभन्दा बाहेकको विकल्प खोज्नुपर्ने दिन आएको बताए । उनले तेलमात्र बेचेर नाफा कमाउन नसकिने भन्दै त्यसलाई परिवर्तन गर्न आश्यक हुने बताए ।
उनले बढ्दो जलविद्युतको उत्पादन, विद्युतीय गाडी (ईभी) को प्रयोग, इन्डक्सन चुलो लगायतको प्रयोगले पेट्रोलियम पदार्थको खपत झन्झन् घट्दो क्रममा रहेकोमा नियमले अब बिजनेसको नयाँ क्षेत्र खोज्नुपर्ने उनले बताए ।

