काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध गौरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार उनले ४ करोड ८८ लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत गर्ने प्रयोजनको लागि मात्र निजकी पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्र कुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई प्रतिवादी कायम गरी आयोगले मुद्दा दायर गरेको हो ।
उनको चार करोड ८८ लाख ३० हजार तीन सय २९ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले त्यस बराबरको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गरेको हो ।
३० असार २०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार २०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो ।
उनीसँग कुल १६ करोड १३ लाख ०५ हजार पाँच सय २८ रुपैयाँ बराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ ।

