काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रातको १२ बजे बनेको गठबन्धनको सरकारको आयु लामो नरहेको बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘हाम्रो पार्टीले यो गठबन्धनलाई अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेको छ । दुई ठूला दल दिनको उज्यालोमा मिलेको भएपनि हुन्थ्यो । साँचो कुरा जनताले थाहा पाउलान भनेर रातको १२ बजे सम्झौता गर्नुभयो । ७६ को धारा २ अनुसार सरकार विश्वासको मत लिन असफल हुँदा धारा ३ मा जाने छ भनेर किटेर भनिएको छ, मैले विश्वासको मत पाइन, नेपाली कांग्रेसका दलका नेताको नेतृत्वमा सरकारमा बन्नु पर्दथ्यो, राष्ट्रपतिमाथि दबाब दिएर धर्मसंकटमा पारेर असंबैधानिक सरकार बनाईयो । भ्रष्टाचारीलाई बचाउने उदेश्यका साथ पहिलो र दोस्रो पार्टी सामान्यत मिल्दैनन् । यो गठबन्धन त्यसरी बन्यो’, उनले विगत सम्झदै भने ।
उनले नेकपा माओवादी पार्टी सरकार गिराउने पक्षमा नरहेको स्पष्ट पार्दै अहिले नै सरकारमा जाने पक्षमा आफू नरहेको बताए ।
‘हामी संगठन सुदृढीकरणमा लागेका छौं । जनतामा जान सहज महसुुस गरेको छु । तर पनि यो सरकार रहिराखोस भन्ने चाहना हुँदैन । अप्राकृतिक भएकोले ढल्छ’, उनले भने, ‘यसको आयु धेरै छ जस्तो लाग्दैन । घटनाक्रमले यसको आयु लामो छ जस्तो लाग्दैन । कांग्रेस संस्थापनका नेताहरुको असन्तुष्टि बाहिर आएको छ । हामी गंभीर रुपले घटनाक्रमलाई हेरिराखेका छौं । सरकार आफंै आयु घटाइरहेको छ । सरकार उल्टो दिशामा छ ।’
सदन बोलाउन सरकारले ढीला गरेर अध्यादेशबाट सासन गर्ने काम गरेको भन्दै उनले यसको विरोध गरेको बताए । ‘अध्यादेश किन भने सत्ता गठबन्धनसँग सदन फेस गर्ने नैतिक साहस छैन । यसले सरकार कमजोर निरिह र गैर जिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ । सदन चाँडो बोलाईयोस’, उनले भने ।
उनले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको समेत बताए । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको बताए ।

