काठमाडौं । विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेकी छिन्।
यसैअन्तर्गत मन्त्री डा. राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छिन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन्।
मन्त्री डा. राणाले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् ।
मन्त्री डा. राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसंग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्तिवार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी छिन्।
कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासहरूलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरूको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताए ।
कतारका मन्त्री डा. खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको बताए।
यसअघि मन्त्री डा. राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

