काठमाडौं । फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटल मक्युर सञ्चालनमा आएको छ। एबी होल्डिङले काठमाडौंको सुकेधारामा निर्माण गरेको पाँचतारे होटल मक्युर बुधबारबाट सञ्चालनमा आएको सञ्चालक देशबन्दु बस्नेत(अजित)ले जानकारी दिए।
३ अर्ब लगानीमा निर्माण भएको होटलको व्यवस्थापन फ्रान्सको मक्युर होटलले सम्हालिसकेको छ। होटलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
पाँच रोपनी क्षेत्रफलमा फैलिएको ११ तले होटलमा १०४ वटा विलासी कोठा छन्। होटलमा आरामदायी र फुर्सदी यात्रुको आवश्यकताअनुरुपका कोठा डिजाइन गरिएको छ। नेपाली, इण्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल, सयौंको संख्यालाई एकैसाथ सेवा दिन सकिने बैंक्विट हलसमेत उपलब्ध हुनेछ।
आरामदायी लबी बार, पाहुनाका लागि शान्त वातावरण होटलमा पाइनेछ। होटलको ११औं तलामा काठमाडौं उपत्यकालाई नियाल्दै स्वीमिङको मज्जा लिन सकिन्छ। त्यहाँबाट हिमाललाई नियाल्दै कफी र मदिराको चुस्की लिन सकिन्छ।
होटलमा कार्यक्रम र बैंठकका लागि पर्याप्त स्वीट हलसमेत उपलब्ध छ। यस्तै आधुनिक जिम, स्टीम र सौना, वेलनेस सेन्टरसमेत रहेको छ। बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा विश्व प्रसिद्ध एकोर समूह भित्र्याएका हुन्। एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका सय बढी देशका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक द मेट्रोपोलिटनमा मक्युर ब्राण्डमा होटल व्यवस्थापन सम्हालेको हो।
होटलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन यस होटलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।

