काठमाडौँ । सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आधाले घटेको छ।
चालू आर्थिक वर्षको पुससम्म बैंकले ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढे पनि र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १८.६८ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ।
पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा रहेको छ। सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ।
पुससम्म बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

