काठमाडौँ । राजनीति देश र जनताको पक्षमा काम गर्ने भन्दा बढी नेताहरुको आफ्नै स्वार्थको रोटी सेकाउने माध्यम बन्दै गएको वागमती प्रदेश एमालेका अध्यक्ष कैलास ढुंगेलको व्यवहारबाट देखिएको छ । पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको प्रभावमार्फत वागमती प्रदेश अध्यक्ष बनेका कैलास अहिले यो समुह छाडी पूर्व राष्ट्रपतिको पक्षमा लागेका छन् । पार्टी नेतृत्वलाई कमजोर बनाएर वैकल्पिक नेतृत्वलाई मलजल गर्न लागेका उनले सातै प्रदेशका अध्यक्षहरुलाई पनि पूर्व राष्ट्रपतिको छत्रछायाँमा पुर्याउन असफल प्रयास गरेका छन् । उनले तीन प्रदेश अध्यक्षलाई भने पूर्व राष्ट्रपतिकोमा लग्न भ्याएका एक अध्यक्षले बताए ।
एमालेको केन्द्रीय समितिको बैठक पुसको तेश्रो सातामा सकियो । त्यसअघि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा सातै प्रदेशका अध्यक्षहरुको सहभागीता रहेको थियो । पार्टीलाई सातै प्रदेशमा एकरुपताका साथ सञ्चालन गर्न तथा एकगठ बनाएर परिचालित गराउन सहयोग पुगोस् भनी आयोजित कार्यक्रमकै अवसर पारेर वागमती एमालेका अध्यक्ष समेत रहेका कैलास ढुंगेल भने आफ्नै स्वार्थको रोटी सेकाउन व्यस्त बने ।
एमालेको केन्द्रीय समितिको बैठक बस्नुअघिको कार्यशालामा भाग लिन आएका सातै प्रदेश अध्यक्षहरुलाई उनले कोटेश्वरस्थित एवन रेष्टुरेष्टमा एक छाक मेजमानीयुक्त खाना खुवाए । खुद आफ्नै लगानीबाट भन्दा पनि कार्यकर्ताहरुलाई आश्वासन र प्रलोभनमा पारी काम लिन सिपालु कैलासले रामेछापकै एमाले कार्यकर्ताहरुको सो रेष्टुरेण्टमा पैसा नतिरी प्रदेश अध्यक्षहरुलाई भोज दिएका थिए ।
सोही समयमा उनले अध्यक्षहरुलाई पूर्व राष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीकोमा जान हल्का प्रस्ताव गरेका एक अध्यक्ष बताउँछन् । खानाकै समयमा राखिएको प्रस्तावप्रति तत्काल कसैले पनि विमती राखेनन् । लगत्तै एमालेको केन्द्रीय समितिको बैठक शुरु भयो । पुस २३ गते सकिएको बैठकभन्दा अघि २२ गते नै कैलासले फेरी बैठक चलिरहेकै अवधिमा अध्यक्षहरुलाई पूर्व राष्ट्रपतिकोमा जान समय लिइएको बताए ।
बैठक समयमा नै कैलासको अगुवाइमा प्रदेश १ का अध्यक्ष घनश्याम खतिवडा, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल र कर्णाली प्रदेश अध्यक्ष गुलाब जंग शाह विद्या भण्डारीलाई भेट्न गए । बैठक चलिरहेकै समयमा च्यासलबाट निस्किए पनि बीचमा रमाउँदै यो टोली झमक्कै साँझ परेपछि मात्र पूर्व राष्ट्रपतिकोमा पुग्दा दोलखाबाट विस्थापित भई काठमाडौमा जिम्मेवारीमा रहेका एमाले नेता आनन्द पोखरेल पनि थपिएका थिए ।
रामेछापका स्थानीय निर्वाचनमा टिकट दिनुअघि नै उम्मेदवारहरुसँग शुभलाभ हासिल गरेको आरोप लाग्दै आएका कैलास अहिले अकुत कमाएका ठेकेदार नेता रत्न गौतमलाई च्यापेर हिंडेका छन् । यसअघि पनि प्रदेशको टिकट तिमीलाई भनी रत्नसँग चाहेबमोजिमका लाभ लिएका कैलास अन्तिममा आफैं उम्मेदवार भएपछि रत्नकै पेटी ठेकेदारहरुको अपहरणमा परेका थिए ।

